काठमाण्डौ, १० असार– मनसुन भित्रिएसँगै देशभर वर्षा भइरहेको छ । वर्षासँगै परेको चट्याङ लागेर शनिबार एकै दिन देशका विभिन्न स्थानमा ६ को मृत्यु भएको प्रहरीले बताएको छ ।
दाङको दंगीशरण गाउँपालिका–६ बागर बस्ने ३२ वर्षीय समीर केसी र सोही गाउँपालिका९३ चखौरा बस्ने ३७ वर्षीय बिरेन्द्र भन्ने रामनारायण चौधरीको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरी बताएको छ ।
आ–आफ्नै खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी बताएको छ ।
यता कास्कीको पोखरा महानगरपालिका–२३ हर्पन बस्ने ४९ वर्षीय देवबहादुर विकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ ।
आफ्नै घरको ढोका लगाउने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रशहरीले बताएको छ ।
त्यस्तै बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानी बस्ने चित्र बहादुर बिकको छोरा ६ वर्षीय दिनेश बिक र छोरी ९ वर्षीया सुनिता बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको प्रहरीले बताएको छ ।
उता गुल्मीको मालिका गाउँपालिका–८ फल्लेनी बस्ने ४० वर्षीया विष्णु बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ ।
आफ्नै घरको आँगनमा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको प्राथामिक स्वास्थ्य केन्द्र रजस्थल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
