समयमै कोरिया जान नपाएपछि ईपीएस शाखा घेराउ

१० असार २०८०, आईतवार १४:४२

काठमाण्डौ, १० असार– ईपीएस कोरियन भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएको भन्दै कोरियाबाट फर्किएकाहरुले ग्वार्कोस्थित वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा घेराउ गरेका छन ।

आज (आइतबार) बिहान ग्वार्को पुगेका ‘कोरिया रिटर्नी’हरुले प्रदर्शन गरेका छन । प्रदर्शनमा अप्रिय घटना पनि हुन सक्ने भन्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

वैधानिक रुपमा कोरियाबाट फर्किएकाहरुले लामो समयसम्म महामारीका कारण कम्प्युटर प्रणालीमा दिनुपर्ने सीभीटी परीक्षा दिन पाएका थिएनन् ।

त्यसपछि भएका सीभीटी परीक्षामा पनि पूर्णाङ्क ल्याउने मात्रै पास भएका थिए ।नियमित परीक्षामा भाग लिएर नाम निकालेपछि पनि पछि आफूहरुको लेबर इग्रिमेन्ट जारी नभएको भन्दै कोरिया रिटर्नीहरुले ईपीएस कोरिया शाखा कार्यालय घेराउ गरेका छन ।

सन् २०२२को सेप्टेम्बरमा परीक्षा दिएर पास भएकाहरु पनि अझै कोरिया जान नपाएको भन्दै परीक्षार्थीहरु आन्दोलन सुरु गरेका हुन ।

सरकारले कोरिया सरकारसँग वार्ता गरेर पीडितहरुको माग सम्बोधन गर्नुपर्ने उनीहरुको माग रहेको छ । दुःख गरेर भाषा परीक्षा पास हुँदा पनि एक पटक कोरिया गएर फर्र्किएकाहरुलाई लैजान रोजगारदाताले आनाकानी गरेको उनी हरले बताएका छन ।