काठमाण्डौ, ८ आसार– ओखलढुङ्गामा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई बेपत्ता भएका थिए ।
बेपत्ता दुबैको शव भेटिएको प्रहरीले बताएको छ । बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा उनीसँगै २९ वर्षीय श्रीमती शिवमाया, १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको प्रहरीले बताएको छ ।
आमाबाबुको शव बिहानै भेटिए पनि बेपत्ता छोराछोरीको शव स्थानीयवासी र सुरक्षाकर्मीले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन ।
राति करिब ११ बजेतिर बस्ती माथिबाट आएको पहिरोले गुरुङसँगै बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको थियो । अन्यले भागेर ज्यान जोगाएका थिए ।
पहिरोले पुरिएर चार जनाको मृत्यु भएपछि विलन्दुगाउँ शोकमा परेको छ प्रहरीले बताएको छ । वि सं २०७२ को भूकम्पले धाँजा फाटेको जमिनमा पानी पसेर पहिरो जाँदा जनधनको क्षति भएको हुनसक्ने प्रहरीले बताएको छ ।
