सरकारले विद्यालय कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्नुपर्छ|: देवेन्द्र पौडेल

८ असार २०८०, शुक्रबार १४:१८

काठमाण्डौ, ८ आसार– पूर्व शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्यालय कर्मचारीहरुको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन ।

उनले सार्वजनिक विद्यालय सुधार अभियानलाई सार्थक बनाउन पनि विद्यालय कर्मचारी र शिक्षकहरुसँग विगतमा गरिएका सहमतीहरुको कार्यान्वयनमा सरकारले ढिलाई गर्न नहुने बताएका छन ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन । उनले सरकारले दुईपटक आफैंले गरेको प्रतिवद्धताअनुसार विद्यालय कर्मचारीको समस्या समाधान नगरेको भन्दै आपत्ति समेत व्यक्त गरेका छन ।

उनले उनीहरुको सो माग सम्बोधन गर्न सरकारले ढिलाई गर्न नहुने बताएका छन । विद्यालयका कर्मचारीहरुले लेखापाल र कार्यालयका सहयोगीको सेवा सुविधा खरदार सरह पुर्याउन माग गर्दै आइरहेका छन् ।

उनले भने, ‘यो सदनमा लगातार उठेको भनेको विद्यालय कर्मचारी व्यवस्थापनको विषय हो । गत साल पनि यो विषय उठ्यो सम्माननीय सभामुख महोदय । त्योभन्दा अघि शिक्षक महासंघसँग २०७८ सालमा ५१ बूँदे सहमति भएको थियो ।

त्यसैगरी २०७५ सालमा पनि शिक्षक महासंघसँग त्यसप्रकारका समस्याहरु समाधान गर्नका लागि सरकारको तर्फबाट प्रतिवद्धता गरिएको थियो । सम्माननीय सभामुख महोदय, आजसम्म त्यसप्रकारका समस्याहरु हल नहुनु र विद्यालयका विषयमा, शैक्षिक सुधारका विषयमा सदनमा लगातार कुरा उठदै गर्दाखेरी शिक्षकका त्यस प्रकारका समस्याहरु हल नहुनु भनेको गम्भिर कुरा हो’

ती सहमतिहरु कार्यान्वयन गर्नका निम्ति र ती सहमतीहरु कार्यान्वयन गरेर विद्यालय सुधार्नका निम्ति महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका शिक्षकहरुलाई सम्मानित गरेर, शिक्षकका मागहरु सुधार गरेर, विद्यालय कर्मचारीका समस्याहरु समाधान गरेर सार्वजनिक विद्यालय सुधार अभियानमा अगाडि बढनका निम्ति म सम्माननीय सभामुख महोदयमार्फत नेपाल सरकार र सम्बन्धित निकायलाई गम्भिर ध्यानाकर्षण चाहन्छु ।’