काठमाण्डौँ महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित

८ असार २०८०, शुक्रबार १३:४८

काठमाण्डौ, ८ आसार– काठमाण्डौं महानगरपालिकाको चालु आर्थिक वर्ष ०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आज शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको १३ औं अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम पारित गरिएको हो ।

अधिवेशनको पहिलो बैठकमा महानगरपालिकाका प्रमुख शाहले, चालू आर्थिक वर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गर्दै आगामी वर्षका लागि ११ बुँदामा नीति र १२५ बुँदामा कार्यनीति पेश गरेका थिए ।

उनले सांस्कृतिक सहर, समृद्ध महानगर’ महानगरपालिकाको दीर्घकालीन सोच हो । यसमा आधारित रहेर सहरी विकास, सुरक्षा र व्यवस्थालाई नीति तथा कार्यनीतिमा समेटिएको बताएका थिए ।

उनले भने, ‘एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना र सञ्चालन, कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना, अर्गानिक खाद्य तथा तरकारीका आत्म निर्भर बनाउन सहयोग, सबै सडक कालोपत्रे गर्ने, खाल्टाखुल्टीरहित बनाउने कम्तीमा १ लाख विरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएका छन्’ ।

सभामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, संस्कृति, सम्पदा तथा पर्यटन, वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, राजस्व तथा वित्त व्यवस्थापन, सहरी यातायात, कानुन तथा मानव अधिकार, कृषि तथा पशुपंक्षी, सामाजिक विकास, खेलकुद, सहकारी, अन्तरराष्ट्रिय सम्बन्ध, विपद व्यवस्थापन, सहरी विकास तथा भवन मापदण्ड, सार्वजनिक निजी साझेदारी, सूचना तथा प्रविधि, हरियाली प्रवर्धन आयोजना, सहरी योजना आयोग सम्बन्धी कार्यनीति पेश भएका थिए ।

‘गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय एक नर्स’, ‘एक विद्यालय एक सामाजिक सहजकर्ता’, ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’, ‘सुलभ फार्मेसी’, ‘धुलोरहित काठमाडौँ’, ‘सुन्दर महानगर’, ‘उज्यालो सहर, मेरो महानगर’ यस बर्षको कार्यनीतिमा समेटिएका छन् ।

यस्तै ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘न्याय चौतारी’, ‘एग्रोपुलिङ्’, ‘साथी महानगर’, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, ‘डुबान समाधान’, ‘सुशासनका लागि अनलाइन सेवा’, ‘महानगरले देख्छ’, ‘मेरो रहर, हरित सहर ’, ‘मिसन २१००’ कार्य नीति छन् । आजको बैठकमा नगरसभाका १७ जना सदस्यले धारणा राखेका थिए ।