सांसद नचिनेर प्रधानमन्त्री अल्मलिएपछि…

८ असार २०८०, शुक्रबार १३:०४

काठमाण्डै, ८ असार–प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई जना सांसदलाई चिन्न नसकेपछि सभामुखसँग सहयोग मागेका छन् । प्रश्नोत्तरका क्रममा सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा तेस्रो प्रश्नकर्ता कांग्रेस सांसद अन्जनी श्रेष्ठलाई समय दिएका थिए । श्रेष्ठले प्रश्न पनि गरिन् । त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन समय दिए । तर, प्रधानमन्त्रीले सांसदलाई चिन्न नसकेर अल्मलिए अनि सभामुखको घिमिरेको सहयोग मागे ।

‘माननीय सदस्यको नाम मैले थाहा पाउनुपर्ने भयो’, सभामुखतर्फ हेर्दै प्रधानमन्त्रीले सहयोग मागेपछि सभामुखले अन्जनी श्रेष्ठको नाम लिन पुगे । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिन थाले । त्यस्तै अर्कासांसद अम्बिका बस्नेतलाई पनि प्रधानमन्त्रीले चिन्न सकेनन् । प्रधानमन्त्रीले बस्नेतलाई पनि नामले चिन्न नसकेपछि पुनः सभामुखको सहयोग मागे । उनले भने, ‘सम्माननीय सभामुख महोदय फेरि मलाई नाम भन्दिनुपर्ने भयो । यहाँ मेरो थोरै तलमाथि परेको छ ।’

प्रधानमन्त्रीले सहयोग मागेपछि सभामुखले ‘अम्बिका बस्नेत’ भनेर चिनाए । सभामुखले सांसदलाई चिनाएपछि नम्बर नै नरहेको भन्दै एकछिन अल्मलिन पुग्दै फेरि प्रश्न सोध्न आग्रह गरे । उनले फेरि प्रश्न गर्न आग्रह पनि गरे । त्यसपछि बस्नेतले पुन प्रश्न गरिन् ।