दीपेन्द्रले लिए वेस्ट इन्डिजको चौथो विकेट

७ असार २०८०, बिहीबार १६:१३

काठमाण्डौ, ७ असार– आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको चौथो विकेट लिएको छ ।

चौथो विकेटका रुपमा वेस्ट इन्डिजका निकोलस पुरन पेभेलियन फर्किएका छन । पुरनको विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन । पुरनको क्याच पनि दीपेन्द्रले नै लिएका थिए । लामो समय क्रिजमा टिकेका पुरनले एक सय १५ रन बनाएका छन ।

उनले ९४ बलको सामना गरी चार छक्का र १० वटा चौका प्रहार गरेका छन । पुरनले चौथो विकेका लागि कप्तान साई होपसँग दुई सय १६ रनको साझेदारी गरेका थिए । त्यसअघि स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजको तेस्रो विकेट लिएका थिए ।

उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रान्डन किंगको विकेट लिएका थिए । सन्दीपले किंगलाई ३२ रनमा बोल्ड गरेका थिए । सन्दीपले जारी प्रतियोगितामा लिएको यो पहिलो विकेट हो ।

किंगले ४२ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काएका थिए । वेस्ट इन्डिजले ५५ रनमा तेस्रो विकेट गुमाएको हो । त्यसअघि गुल्सन झाले वेस्ट इन्डिजको दोस्रो विकेट लिएका थिए । उनले जोन्सन चाल्र्सलाई आउट गराए ।

गुल्सनले चार्ल्सलाई शून्य रनमै आसिफ शेखमार्फत क्याच गराए । त्यतिबेला वेस्ट इन्डिज नौ रन बनाएर खेल्दै थियो । त्यसअघि नेपालका अर्का बलर करण केसीले वेस्ट इन्डिजका ओपनर काइले मायर्सको विकेट लिएका थिए ।

आफ्नो पहिलो ओभरको तेस्रो बलमै करणले मायर्सलाई एक रनमा कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । वेस्ट इन्डिजले दुई रनकै कूल स्कोरमा आफ्नो पहिलो विकेट गुमाएको थियो । करण विश्वकप विजेता रहिसकेको राष्ट्रविरुद्ध विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् ।

जिम्बाबेको हरारे स्पोर्ट क्लबमा भएको खेलमा नेपालले टस जितेर वेस्ट इन्डिजलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता हो । नेपालले एकदिवसीय विश्वकप विजेता टोलीसँग इतिहासमै पहिलो पटक प्रतिस्पर्धा गरेको हो ।