काठमाण्डौ, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रहेको बताएका छन ।
आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले नेपाली समाज परिवर्तनका लागि तयार भएको आफूहरुले पाएको बताएका छन ।
उनले पार्टी सुरुवात गर्दा नागरिकले आफूहरुलाई विश्वास गरेको तर उक्त विश्वास मतपत्रमा देखिन्छ वा देखिदैन भन्ने आशंका रहेको पनि उनले बताएका छन ।
उनले भने, ‘तर साँच्चिकै समाज अब परिवर्तनका लागि तयार नै भएको हो र त्यो तयार भएको कुरा मतपत्रबाट नै जाहेर गर्छ भन्ने कुराको एउटा स्पष्ट संकेत, हाम्रो भाषामा घन्टी बजि नै सकेको छ’ लामिछानेले भने, ‘यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो ।
यसलाई अत्यन्त सकारात्मक रुपमा हेरेको जानकारी गराउँछु ।’ सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका प्र्रमुख बालेन्द्र शाह बालेन र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताएका छन ।
उनले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको पनि बताएका छन ।
