१६औं गणतन्त्र दिवसको समारोहमा मेयर र उपमेयर सहभागी नहुनुको कारण यस्तो छ

१५ जेष्ठ २०८०, सोमबार १५:२८

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर १६औं गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा अनुपस्थित भएका छन् ।

आज (सोमबार) सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले सहभागीता जनाएका छैनन्। गणतन्त्र दिवशको मूल आयोजक समितिको सदस्यमा काठमाडौं महानगरपालिकाका मेयर पनि रहन्छन् । बालेन पारिवारिक कामले औपचारिक समारोहमा सहभागी नभएको मेयर बालेनका स्वकीय सचिवालयले जननाएको छ।

‘मेयरसाबको म्याडम गर्भवती हुनुहुन्छ, अस्पतालमै राख्न परेपछि मेयर उता ब्यस्त भएकोले कार्यक्रममा जानु नभएको होला’, सचिवालयका एक सदस्यले भने ।

महानगरका प्रवक्ता नविन मानन्धरले महानगरपालिकाको प्रमुख र उपप्रमुख हरेक गणतन्त्र दिवसमा सहभागी हुँदै आएको बताए । ‘म वडाध्यक्ष निर्वाचित भएको ६ वर्ष भयो, अहिलेसम्म सबै पटक सहभागी भएको थाहा छ, अब यो पटक किन सहभागी भएनन् मलाई नै थाहा छैन,’ प्रवक्ता मानन्धरले भने ।

उनले अघिल्ला वर्षहरुमा महानगरले नै मञ्च व्यवस्थापनको काम गर्दै आएपनि यो पटक त्यसबारेमा जानकारी नभएको बताए । यस्तै उक्त समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन सहभागी भएका थिए ।