देशमा आगो बाल्ने चेतावनी दिएकी एलिजाले भनिन्, ‘…आक्रोशमा जे पनी बोल्नु मेरो कर्तव्य हो’

३ जेष्ठ २०८०, बुधबार १४:२३

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख एलिजा गौतमले कार्यकर्ता निराश हुँदा आक्रोशमा आएर बोल्नु आफ्नो कर्तव्य भएको बताएकी छन् ।

पार्टीका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गर्ने सर्वोच्च अदालतको फैसलापछि गौतमले मंगलबार साँझ युट्युबरमाझ चौधरीलाई रिहा नगरे देशमा आगो बल्ने चेतावनी दिएकी थिइन् ।

‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौं, देशव्यापी आन्दोलन हुन्छ,’ उनले भनेकी थिइन्, ‘अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा ।’

आफ्नो बोलीको विषयमा टीकाटीप्पणी हुन थालेपछि गौतमले सामाजिक सञ्जालमार्फत पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा जे पनी बोल्नु र सरकारलाई खबरदारी गर्नु आफ्नो कर्तव्य भएको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘पार्टीले केन्द्रीय सदस्य र महिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ। अदालतको फैसला हाम्रो पक्षमा नआउदा लाखौं कार्यकर्ता निराश छन्। पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा जे पनी बोल्नु, सरकार लाई खबरदारी गर्नु मेरो कर्तव्य हो ।’

आफू राजनीतिक सिकारु भएको भन्दै उनले आफूभित्र भएका कमजोरी सुधार्दै लैजाने प्रतिबद्धता व्यक्त गरेकी हुन् । समाजका लागि केही गरौं भन्ने हुटहुटीले राजनीतिमा जोडिएको भन्दै आगामी दिनमा पनि सुझाव दिन उनले आग्रह गरेकी छन् ।