नक्क्ली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएपछी पद निलम्बन हुने भएको छ ।
गत मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका हुन् ।
कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधि सभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ ।
भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार भएका थिए ।
वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेका रायमाझी उतैबाट फरार थिए। वैशाख ३१ गते रायमाझीलाई बुढानिलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रतिनिधि सभाका पूर्व सचिव गोपाल योगीले कुनै पनि सांसद पक्राउ परेको सूचना संसदलाई जानकारी गराएपछि पद निलम्बनमा पर्ने बताए ।
‘कुनै पनि सांसद प्रहरीको नियन्त्रणमा परेपछि त्यसको जानकारी संसदलाई दिनुपर्छ । त्यसपछि मात्रै अरू निलम्बनको प्रकिया अघि बढ्ने हो’, उनले भने, ‘संसदको अधिवेशन चलिरहेको अवस्थामा सभामुखले बैठकमा जानकारी गराउने प्रावधान छ भने अधिवेशन नरहेको अवस्थामा सूचना टाँसेर जानकारी गराउने प्रावधान छ ।’
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद रायमाझी पक्राउ परेको जानकारी अहिलेसम्म संसदलाई नगराइएको बताए ।
