नक्कली भुटानी शरणार्थी प्रकरणमा थपिए थपिए आरोपीः पाँच जना अझै फरार, हिरासतमा १२ जना

३१ बैशाख २०८०, आईतवार १६:४९

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहको सदस्यमा दुई आरोपी थपिएका छन् ।

तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासमेत यो गिरोहमा संलग्न रहेको भन्दै उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति नै जारी भएको हो ।

थापाका सुरक्षा सल्लाहार इन्द्रजित राई पक्राउ परिसकेका छन् । राइसँगै सो गिरोहलाई सघाउनेमा प्रतीकसमेत संलग्न देखिएपछि प्रहरीले औपचारिक रूपमा अनुसन्धानको दायरामा ल्याएको हो ।

यो प्रकरण सार्वजनिक भएसँगै प्रतीक फरार छन् ।

कांग्रेस पूर्वसांसद शेर्पा हिरासतमा रहेका व्यक्तिहरूसँग भेटेर अनुसन्धान प्रभावित पार्न संलग्न रहेको देखिएको थियो ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न उनले हिरासतमा रहेका गिरोहका सदस्यहरूलाई भेटेको र केही रकमसमेत दिएको आरोप लागेको थियो ।

उनीसमेत संलग्न रहेको थप प्रमाण खुलेपछि प्रहरीले अदालतबाट औपचारिक रुपमा पक्राउ अनुमति लिएको हो ।

तर शेर्पा खाँण पक्राउ पर्नु अगाडि नै सम्पर्कविहीन भएका थिए। खाँणको मैजुबहालमा रहेको डेरा र शेर्पाको घरको दूरी एक किलोमिटर छ। उनको घरमा ताल्चा लागेको छ ।

इन्द्रजित राईका छोरा निरजविरुद्ध समेत पक्राउ पुर्जी जारी भए पनि उनीसमेत फरार छन् ।

एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि फरार छन्। पूर्वगृहमन्त्री खाँणलगायत १२ जना हिरासतमा छन् ।