बालुवाटारको शीर्ष बैठकमा दोस्रो तहका नेता थपिए

३१ बैशाख २०८०, आईतवार १२:२५

बालुवाटारमा जारी प्रमुख दलका शीर्ष नेताको बैठकमा दोस्रो तहका नेताहरू थपिएका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्षबीच जारी बैठकमा केही बेरअघि दोस्रो तहका नेताहरू थपिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

करिब १० बजे देखि सुरु भएको शीर्ष बैठकमा डेढघण्टा पछि दोस्रो तहका नेताहरू थपिएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलमा दोस्रो तहका नेताहरू पुर्णबहादुर खड्का तथा रमेश लेखक, सुवास नेम्वाङ तथा हितराज पाण्डे थपिएका हुन् ।

“केहीबेर अघि दोस्रो तहका नेताहरू पनि थपिनु भएको छ,” प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, “सायद कुरा मिल्ने भएपछि भित्रैबाट खबर भएर उहाँहरू आउनुभएको होला ।”

बैठकमा संसद्‌मा रहेका विधेयक पारित गर्न विपक्षीको साथ प्रधानमन्त्रीले खोजेका छन् । बहुमतबाट विधेयक पारित हुने भएपनि कार्यान्वयनका लागि भोलि जटिलता नआओस भनेर प्रधानमन्त्रीले कांग्रेस र एमालेका दुवै अध्यक्षलाई निरन्तर जस्तो छलफलमा डाकिरहेका छन् ।

नेकपा (एमाले)ले संवैधानिक परिषद् विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमामा आफ्नो फरक धारणा राख्दै आएको छ । त्यही कारण सरकारले फास्टट्रयाकमा अघि बढाउनेगरी ल्याएका विधेयक संसदमै विचाराधीन छन्