सम्पर्कमा आइनन् मञ्जु खाँण बालकृष्णले भेट्न खोज्दा पनि

२९ बैशाख २०८०, शुक्रबार ११:२२

पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती तथा कांग्रेस नेतृ मञ्जु खाँण फरार बनेको तीन दिन बितिसक्दा समेत सम्पर्कमा आएकी छैनन् । नक्कली शरणार्थी प्रकरणमा श्रीमान पक्राउ परेको तीनसम्म पनि उनी सम्पर्कमा छैनन् ।

आश्चर्य त के छ भने मञ्जु खाँण अझै पनि बालकृष्ण खाँणलाई भेट्नसमेत पुगेकी छैनन् । बालकृष्णलाई पक्राउ गर्दा पनि उनी घरमा थिइनन् । उनी मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन भएको बताइएको छ ।

नेपाली कांग्रेसमा व्यापक विरोध हुँदापनि देउवा र खाँणको जबर्जस्तिले समानुपातिक सांसद बनेकी मञ्जुले नक्कली शरणार्थी प्रकरणमा घुष लिएको भिडियो सार्वजनिक भैसकेको छ । त्यसमाथि अनुसन्धान सुरू भएपछि मन्जु तनावमा थिइन् । मञ्जुले साढे ६ करोड र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले २ करोड बुझेको अडिओपछि उनी अनुसन्धानमा तानिएकी छन् ।

पछिल्ला संसद बैठकमा पनि उनी गएकी छैनन्। प्राप्त जानकारी अनुसार पक्राउ परेपछि बालकृष्णले श्रीमतीलाई भेट्न खोजेका थिए तर उनी भने सम्पर्कमा आएकी छैनन् । बालकृष्णले भेट्न गएका आफन्तमार्फत मञ्जुलाई भेट्न पठाउन आग्रह गरेका थिए ।

काठमाडौं परिसरको हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न बुधबारै उनका परिवारका अन्य सदस्य टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगे। बालकृष्णका दाजुभाउजु बुधबार नै काठमाडौं परिसर पुगे। उनीहरुले बुधबार र बिहीबार दुवै दिन पुगेका थिए। सोहि क्रममा उनले श्रीमतीलाई भेट्न चाहेको बताएका थिए ।