एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली भुटानी शरणार्थी ठगी काण्डमा पूर्वाग्रह र हिरोइजम नदेखाउन चेतावनी दिएका छन् ।
यो प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि लगातार प्रधानमन्त्री प्रचण्डलाई दवाव दिएका ओलीले यस्तो चेतावनी दिएका हुन् । अदालतले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी पाँच दिनदेखि फरार छन् ।
ओलीले एमाले निष्पक्ष छानबिनसहित दोषीलाई कारबाही गर्ने पक्षमा दृढतापूर्वक उभिए पनि प्रधानमन्त्रीले मुख्य दोषीमाथि छानबिन नगर्न र उम्काउन प्रहरीलाई निर्देशन दिएको दाबीसमेत गरे ।
‘क–कसलाई फसाउन, उम्काउन निर्देशन छ, अहिले म भनिहाल्दिनँ, त्यसबारे पछि कुरा गर्छु । तर, प्रधानमन्त्री भएर यसप्रकारको खेल चल्दैन प्रचण्डजी,’ ओलीले भने, ‘प्रधानमन्त्रीले यस्ता भ्रष्टाचार काण्डको दृढताका साथ छानबिन गराउनुपर्छ, दुबोको माला लगाएर हिरोइजमको व्यापार गर्ने होइन, स्टन्टबाजी गर्ने होइन, छानबिन गरेर दोषीमाथि कारबाही गर्ने हो । प्रतिपक्षीविरुद्ध होइन, दोषीविरुद्ध उभिने हिम्मत देखाउनुस्, चुनौती दिएर भन्न चाहन्छु ।’
