रायमाझीजस्तै ‘फरार’ हुने तयारीमा थिए खाँण

२८ बैशाख २०८०, बिहीबार १५:२७

‘फरार’ को तयारीमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरीले सुइँको पाएपछि बुधबार बिहानै निवास पुगेर पक्राउ गरेको खुलेको छ ।

प्रहरीका एक उच्च अधिकारीले भने, “उहाँ पनि टोपबहादुर रायमाझीजस्तै फरार हुने तयारीमा रहेको हामीले सूचना पाएका थियौँ । फरार हुन सक्ने आशंका थियो ।”

प्रहरी स्रोतले दिएको जानकारीअनुसार एमाले नेतृत्त्वसँग रहेको सम्पर्कमा रहेका रायमाझी एकाएक फरार भएपछि सक्रियता बढाएको थियो । बिहान चाबहिलस्थित निवासमा लुकेर बसेको अबस्थामा खाँणलाई पक्राउ गर्ने काठमाडौं उपत्यका अपराध महाशाखाको टोली थिए ।

“यो प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परेका छन्, ” ती प्रहरी अधिकारीले भने, “पक्राउको सूचीमा अझै आठजना छन् । २० जनाको जाहेरी परेको छ । १२० जना पीडित सम्पर्कमा छन् ।”

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरीका उच्च अधिकारीलाई बोलाएर अनुसन्धानमा खुट्टा नकमाउन निर्देशन दिएको प्रहरी स्रोत बताउँछ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि पत्रकारहरुसँग कुरा गर्दैै बुधबार प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

अनुसन्धानमै रहेको विषय भएको र कसैले पनि आफूलाई दबाब नदिएको उनको धारणा थियो ।