आफ्नै निवासबाट पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

२७ बैशाख २०८०, बुधबार १०:३०

नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ ।

पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ परेको छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । प्रहरीले त्यो अडियोमाथि पनि थप अनुसन्धान गरिरहेको छ ।

सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्। प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यही प्रकरणमा पूर्वगृहसचिव रहेका तथा उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् ।

हिरासतमा रहेका अभियुक्तहरूको बयानको आधारमा एकपछि अर्को गरी उच्च पदस्थहरू तानिएका हुन् ।