नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा संलग्न नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खानतलासी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले अहिले खानतलासी जारी रहेको बताएको छ ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट झण्डै १ अर्ब रुपैयाँ उठाएर ठगि गरेको प्रकरणको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । पक्राउ पूर्जी जारी भएको १ साता बित्न लाग्दा पनि रायमाझी भने फरार छन् ।
सोही ठगी प्रकरणमा प्रहरीले रायमाझीका छोरा सन्दीप रायमाझीलाई भने पक्राउ गरिसकेको छ। उनीमाथि अनुसन्धान चलिरहेको छ ।
