अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट रावल पक्राउ

२२ बैशाख २०८०, शुक्रबार १२:४४

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ का ३६ वर्षीय रावललाई बिहीबार बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बाट प्रहरीले पक्राउ गरेको हो । कतिपय हिसाब नै लुकाएर त कतिपय कँडेलका कमजोरीहरु प्रदीप रुङ्गटालाई भनेर उनीहरुबीच तनाव ल्याउने काम गरेको आरोप रावलमाथि छ ।

कँडेलका व्यापार साझेदार प्रदीप रुङ्गटा र चार्टर्ड अकाउन्टेन्ट रावलविरुद्ध कँडेलका परिवारका सदस्यले प्रहरीमा किटानी जाहेरी दिएका थिए । रुङ्गटा भने फरार छन् । रुङ्गटाको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ । नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष कँडेल मंगलबार साँझ नारायणगढस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा भेटिएको सुसाइड नोटमा रुङ्गटा र चार्टर्ड अकाउन्टेन्ट रावलले मानसिक पीडा दिएको उल्लेख थियो । सोही आधारमा परिवारका सदस्यले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।