एसिया कपमा छनोट भएको नेपालि क्रिकेट खेलाडीलाई सरकारले गर्नेभयो सम्मान

२० बैशाख २०८०, बुधबार १४:०६

एसिया कप खेल्ने अवसर पाएको नेपालि क्रिकेट खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले नेपालखबरलाई जानकारी दिइन्।

बैठकले मुख्य प्रशिक्षक मोन्टी देसाइलाई पनि रु. ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निमार्णका लागि सरकारले बजेट दिने निर्णय पनि सरकारले गरेको छ । त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बजेट विनियोजन गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

नेपालले मंगलबार भएको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै २१ वर्षपछि एसिया कपमा स्थान बनाएको थियो। पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ ।

नेपालले यसअघि सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो। दोस्रो पटक एसिया कपमा स्थान बनाउन सफल नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्नेछ ।

एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

त्यसबेला नेपाल सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै एसिया कपका लागि छनोट भएको थियो । त्यसबेला दुई छिमेकी मुलुक भारत र पाकिस्तानबीच कार्गिल युद्ध चलेको थियो । त्यहीकारण नेपालले एसिया कपमा पुगेर पनि खेल्न पाएको थिएन ।