नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् प्रभावशाली नेता आलोक रायमाझीले नक्कली भुटानी शरणार्थीको विषयमा नेपाल प्रहरी महानिरीक्षकलाई ध्यानाकर्षण गराएका छन् ।
सोमबार नेता रायमाझीले नेपाल प्रहरी महानिरीक्षक बसन्त कुवरसँग छलफल गर्ने क्रममा देशको सुरक्षा चुनौती बढेको र ८७५ जना नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अर्बौ भ्रष्टाचार गरेको विषयमा महानिरीक्षकको ध्यानाकर्षण गारएका थिए ।
महानिरीक्षक कुवरले उक्त विषय अनुसन्धानकै क्रममा रहेको र यो घटनामा मुछिएकाहरूलाई कुनै पनि प्रभाव र पहुँचको वास्ता नगरी सत्य तथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार र पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोराको समेत संलग्नता देखिएको समचार विभिन्न मिडियाले प्रकाशन गरका थिए।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा निरज राई पनि गिरोहमा संलग्न रहेको र स्वयं थापाका छोरा प्रतीक थापामगरविरुद्ध पनि उजुरी परेको समाचार प्रकाशन भएको थियो ।
गिरोहका सदस्यले १० देखि ५० लाख रुपैयाँसम्म उठाएको आरोप लागेको छ । पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको अनुसन्धानमा देखिएको छ । दुलाल पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी कांग्रेस नेता सुजाता कोइरालाका तत्कालीन निजी सहायक हुन् ।
प्रहरीले एमाले सचिवसमेत रहेका रायमाझीका छोरा सन्दीपका नाममा डेढ करोडको चेक काटेको चेक नै बरामद गरेको थियो ।
