पूर्वगृहमन्त्रीका सल्लाहकार राई मानव तस्करी आरोपमा पक्राउ

१९ बैशाख २०८०, मंगलवार ११:४२

पूर्वमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘बादल’ गृहमन्त्री हुँदा राई सुरक्षा सल्लाहकार रहेका थिए ।

यो प्रकरणमा यसअघि प्रहरीले अरू पाँच जनालाई पक्राउ गरिसकेको छ । यसअघि, दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेका थिए ।

राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् ।

राईले त्यसबेला पटक–पटक गरेर ५ करोड रुपैयाँभन्दा बढी लिएको खुलेको छ । बादल २०७४ फागुन १४ गतेदेखि २०७८ जेठ ६ गतेसम्म गृहमन्त्री रहेका बेला राई सल्लाहकार रुपमा थिए ।