
बैतडीमा दुम्सीका लागि थापेको पासोमा चितुवा परेको छ। जिल्लाको सिगास गाउँपालिका–९ भौतीका स्थानीयले आलु बारीमा दुम्सीका लागि थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय बैतडीका सहायक वन अधिकृत दिलिप यादवले जानकारी दिए।
खुट्टामा पासो परेपछी उक्त चितुवाको उद्धार गरिने भएको हो। पासोमा परेको चितुवाको उद्धारका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली बोलाइएको यादवको भनाई छ। उनले भने, ‘निकुञ्जको टोली पुगेपछि मात्रै चितुवाको उद्धार हुन्छ, उक्त टोली आज रातिसम्म पुग्छ।’
टोलीले चितुवाको जीवितै उद्धार गर्ने र त्यसपछि निकुञ्ज मै पठाइने डिभिजन वन कार्यालय बैतडीले जनाएको छ।
जिल्लामा चितुवा उद्धारका लागि प्राविधिक टोली नहुँदा समस्या पर्ने गरेको छ। घाइते चितुवाको उद्धारका लागि घण्टौं कुर्नुपर्ने र पासोमा परेर घाइते भएका चितुवा मर्नेसमेत गरेका छन्।
