डोल्पामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ। बिहीबार डोल्पाको जुफाल, त्रिपुराकोट, सुँ, जिउँलगायतका बस्तीमा राष्ट्रिय प्रसारण लाइनको परीक्षण गरिएको नेपाल विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ।
रुकुम पश्चिमअन्तर्गत पर्ने मुसिकोट सबस्टेसनको गोतामकोट हुँदै एघार केभीको राष्ट्रिय प्रसारणको डोल्पामा सफल परीक्षण गरिएको सुपरभाइजर ध्रुवबहादुर बिकले जानकारी गराए।
डोल्पाको त्रिपुराकोट, जुफाल, सुँ, जिँउलगायतका बस्तीमा बिहीबार दिउँसो राष्ट्रिय प्रसारणको विद्युत् झलमल बलेको उनले बताए। ‘डोल्पासम्म पुग्ने दूरी लामो भएकाले शुक्रबार विद्युत् टुटेको छ, अब केही दिनभित्रै नियमित बत्ती बल्छ,’ विकले भने।
विद्युत् प्राधिकरणले १५ वैशाखमा राष्ट्रिय प्रसारण पुर्याउने लक्ष्य राखेअनुरूप १४ वैशाखमै विद्युत् पुगेको प्राधिकरणले जानकारी गराएको छ। अब कर्णाली प्रदेशका १० जिल्लामध्ये आठ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन्। अब हुम्ला र मुगुमा ग्रिडको विद्युत् पुग्न बाँकी छ।
तस्बिर स् रासस
