
सेयर बजारको वृद्धि फेरि पनि टिक्न सकेन । यसअघि मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार पुनः १३.६८ अंकले घटेर १८९२ विन्दुमा आएको छ । करिब ८४ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन सूचक दोहोरो अंकले वृद्धि हुँदा नेप्से १९ सयको मनोवैज्ञानिक विन्दुमाथि पुगेको थियो । तर, बुधबार फेरि सूचक १८ सयकै लाइनमा आएको हो ।
मौद्रिक नीति समीक्षा तथा बजेट पर्खिरहेको बजारले एक दिन बढिहाले पनि भोलीपल्टै त्यो वृद्धिलाई कायम राख्न सकिरहेको छैन । लामो समयदेखि शिथिल बनेको बजार माथि जानका लागि केही समय लाग्ने पछिल्ला दिनहरुको कारोबार प्रवृत्तिले जनाएको छ ।
क्रमशः सेयर बजारका लागि सकारात्मक खबरहरु आइरहँदा पनि नेप्सेले त्यसअनुसार रेस्पोन्स गर्न नसक्नुले बजारमा अझै ठूला नीतिगत सुधारको आवश्यकता रहेको कतिपयले बताइरहेका छन् । विशेषगरी सेयर धितो कर्जामा १२ करोडको सीमा र १५० प्रतिशतको जोखिमभारमा सुधारको अपेक्षा लगानीकर्ताले गरिरहेका छन् । यस्तै, बजेटमार्फत पुँजीगत लाभ करको दर घटाउन लगानीकर्ताले माग गरिरहेका छन् ।
यी मागहरु सम्बोधन हुन सकेमा अवश्य पनि सेयर बजार सुधारको प्रक्रिया अघि बढ्न सक्नेछ, किन भने बजार वियरिस चक्रमा गएको पनि २० महिना भइसकेको छ । समयका हिसाबले पनि अब विस्तारै यसले आफ्नो साइकल परिवर्तन गर्ने बेला भएको छ । यस्तै, सेयर बजारका लागि सबैभन्दा महत्वपूर्ण पक्ष मानिने बैंक ब्याजदर घट्नेक्रम सुरु भएको छ ।
तरलता सहज हुन थालेको छ । अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार हुन थालेको छ । रेमिटेन्स बढेको छ । यी सूचकहरुले अब विस्तारै बजारले माथितिरको यात्रा तय गर्न सक्ने अनुमान गरिएको हो । तर थला परेको बजार माथि जानलाई अवश्य पनि केही समय लाग्नेछ ।
निश्चय नै अल्पकालका लािग सेयर बजारको गतिका बारेमा ठोस विश्लेषण गर्न कठिन हुन सक्छ । तर अलि लामो समयलाई आधार मानेर हेर्ने हो भने अवश्य पनि यसको भविष्य राम्रो हुनेछ । आगामी दिनहरु सुनौलो बन्दै जाने केही संकेतहरु देखिएका छन् ।
अब पुँजी बजार थप फराकिलो हुने भएको छ । बजारमा नयाँ स्टक एक्सचेन्ज आउँदैछ । नयाँ ब्रोकरहरु थपिंदैछन् । यी परिदृश्यहरुले पुँजी बजारको आगामी दिनहरु सुनौले बन्दै जाने देखिन्छ । तर २० महिनादेखि बियरिस ट्रेन्डमा रहेको बजार उकासिन केही समय लाग्नु स्वभाविक नै भएको जानकारहरु बताउँछन् ।
यसर्थ, लगानीकर्ताले पनि सकेसम्म दीर्घकालनी सोचका साथ सबल वित्तीय सूचक भएका कम्पनीहरुमा योजनाबद्ध हिसाबले लगानी गर्दै अघि बढ्न जानकारहरुले सुझाव दिने गरेका छ । लाभांश क्षमता, कम्पनीको समग्र वित्तीय अवस्था, प्रतिस्पर्धी कम्पनी र सेक्टरहरुका बारेमा पनि अध्ययन गरेरमात्र लगानी गर्न जानकारहरुले सुझाव दिने गरेका छन् ।
यस दिन २६४ कम्पनीको २५ लाख ७१ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः तारागाउँ रिजेन्सी होटेल र एभरेष्ट बैंक परेका छन् ।
