कीर्तिपुर मैदानमा ३७१ रनको तार्गेट

६ बैशाख २०८०, बुधबार १४:१६

राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटको कीर्तिपुर मैदानमा यूएईले ३७१ रनको भारी तार्गेट दिएको छ । रोहन मुस्ताफा र वृत्य अरविन्दको शतकमा कुवेतले ३७२ रनको लक्ष्य पाएको हो ।

बुधबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रन बनाउन शफल भयो। अरविन्दले १४७ बलमा १७ चौका र ९ छक्काको सहयोगमा १८५ रन बनाए ।

मुस्ताफाले १ सय २४ बलमा १० चौका र ४ छक्काको मद्धतले ११८ रन बनाए । ४.४ ओभरमा २४ रन बनाउँदा ३ विकेट गुमाइसकेको यूएईका लागि अरविन्द र मुस्तफाले चौथो विकेटका लागि २७५ रनको विशाल साझेदारी गरेका थिए ।

उपाधी दावेदार यूएई जितका साथ प्रतियोगिताको शुरुआतमा आएको हो ।

यो समूह बी को खेल हो । यो समूहको पहिलो खेलमा हङकङले सिंगापुरलाई हराएको थियो ।

नेपाल समूह ए मा छ । नेपालले पहिलो खेलमा मंगलबार मलेसियालाई ६ विकेटले हरायो ।

बुधबारको अर्को खेलमा ओमानले कतारसँग मूलपानी मैदानमा खेलिरहेको छ । पहिले ब्याटिङ गरेको ओमानले ८ विकेटको क्षतिमा २४९ रन बनाएको छ ।

बैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदान र मूलपानीमा संचालन भइरहेका छन् ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

समूह बी मा सिंगापुर, हङकङ, यूएई, कुवेत र बहराइन रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ ।

फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कपमा यो प्रिमियर कप जित्ने टिमले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।

शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् ।