उच्च गर्मीका कारण भारतमा दुई दशकमा २२ हजारको मृत्यु

६ बैशाख २०८०, बुधबार १३:१५

सन् २०२० मा ‘द मिनिस्ट्री फर द फ्युचर नामक उपन्यासमा लेखक किम स्टेनली रोबिनसले भारतको उच्च गर्मीको चर्चा गरेका छन् । हजारौँको ज्यान लिने तापमानबारे उनले लेखेका छन्, ‘भारतमा आकाश परमाणु बम जत्तिकै बल्छ । त्यसको तापले अनुहार नै जल्छ । पानीले पनि शीतलता दिँदैन । हावा पनि चिसो बहँदैन । मानिसहरूको प्राण पखेरू भटाभट उड्छ ।’

रोबिनसनको यो वाक्यांश कल्पना गर्दै त भयानक छ भने उच्च तापमानको मार सहनु परेकाहरूको पीडा झनै दर्दनाक छ । गत साता मात्रै भारतमा उच्च तापमानका कारण १२ जनाको ज्यान गयो । महाराष्ट्रमा तापमान वृद्धिका कारण हजारौँ विरामी भएर अस्पताल पुगेका छन् ।

भारत उच्च तापमानको जोखिममा रहेका मुलुकमध्येको देश हो । भारतमा दिन र रात दुवैमा तापमान उच्च रहन्छ । सन् २०५० सम्म भारतमा दुईदेखि चार गुणासम्म तापमान बढ्ने आकलन गरिएको छ । भारतमा उच्च तापमानको लहर सबैभन्दा पहिले आउने र लामोसमय सम्म रहने प्रक्षेपण गरिएको छ ।

मे महिनाभर भारतमा उच्च तापमान रहने मौसम कार्यालयले जनाएको छ । सन् १९०१ देखि सन् २०१८ को तथ्यांक हेर्ने हो भने भारतमा तापमान ०.७ प्रतिशतले हरेक वर्ष बढिरहेको छ । सन् १९९२ देखि सन् २०१५ सम्मको तथ्यांक केलाउँदा भारतमा गर्मीका कारण २२ हजार मानिसको ज्यान गएको छ ।
‘यो संख्या अझै उच्च हुनसक्छ । मृत्युको तथ्यांक राम्रोसँग नराख्दा उच्च तापमानको कारण मृत्यु भएकाहरू कम देखिएका हुन्,’ स्वास्थ्यकर्मी दिलिप मभालंकर भन्छन् ।