पर्यटकको रोजाइमा लमजुङ

५ बैशाख २०८०, मंगलवार १३:३१

नेपाली नयाँ वर्ष २०८० मनाउन आएका पर्यटकले लमजुङका रमणिय गाउँहरू भरिभराउ छन् । नयाँ वर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि नयाँ वर्ष मनाउ जाने क्रम बढेको छ।

सार्क राष्ट्रकै नमुना स्मार्ट भिलेज घलेगाउँ, नेपालकै नमुना गाउँ काउलेपानी र पर्यटकीय गाउँ राइनासकोटमा रहेका होमस्टे यतिवेला आन्तरिक पर्यटकले खचाखच छन् । पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकको व्यस्तता पनि बढेको काउलेपानी होमस्टे सञ्चालक तिलकाशी गुरुङले बताइन्। ‘कुनै घर पनि खाली छैन। हामीलाई भ्याइनभ्याई भएको छ,’ गुरुङले भनिन्, ‘पर्यटकको स्वागत–सत्कारमा दिन बितेको छ।’

घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले ‘नयाँ वर्ष मनाउन समूह–समूह बनेर होमस्टेमा पर्यटक आएको बताए। उनका अनुसार नयाँ वर्षको अवसरमा मात्रै घलेगाउँमा तीन सयभन्दा बढी पर्यटक आएका छन्।

घलेगाउँ, काउलेपानी र राइनासकोटसहित जिल्लामा सञ्चालित मर्स्याङ्दी गाउँपालिकाको भलामचौर, सिउँरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डनसहित जिल्लाका दर्जनभन्दा बढी होमस्टे पनि पर्यटकको राम्रै चहलपहल रहेको पर्यटन व्यवसायी बताउँछन्। विगतका वर्षहरूमा कोरोनाका कारण पर्यटक पुग्न नसकेका गाउँहरूमा पर्यटक आगमन बढेपछि पर्यटन व्यवसायी खुसी छन्।