
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट जाने भएका छन् । भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न प्रचण्ड बालकोटस्थित ओली निवास जान लागेका हुन् ।
सोही भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने तयारी छ ।
प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘एमाले अध्यक्ष ओलीको स्वास्थ्य समस्याका कारण संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे शीर्ष तहमा तीन दिनयता छलफल हुन नसकेकाले आज बालकोट पुगेर स्वास्थ्य लाभको कामना गर्ने र संसदमा ती विधेयक अघि बढाउनेबारे पनि छलफल गर्ने भन्ने छ ।’
एमाले अध्यक्ष ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आजै बिहान बालकोट जाने तयारीमा छन् ।
