उपत्यकाको तुवाँलोले आगामी तीन दिनसम्म नछोडने

४ बैशाख २०८०, सोमबार ०६:१२

हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल स्थिर रहने देखिन्छ । साथै नेपालमा लामो समय देखि वर्षाका गतिविधिमा पनि कमी आएको हुनाले डढेलोका घटनाहरू पनि बढेको पाइन्छ। यसको परिणाम स्वरूप उपत्यका लगायत देशका धेरै भू–भागहरूमा तुवाँलो समेत लागेको र सो क्रम अझै आगामी तीन दिनसम्म पनि जारी रहने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ ।