काठमाडौं प्रहरी परिसरमा युट्युबर र सामाजिक ‘अभियान्ता’बीच कुटाकुट

३ बैशाख २०८०, आईतवार १७:४३

जिल्ला प्रहरी परिसर काठमाडौंको गेटमा युट्युबर र सामाजिक अभियान्ताबीच कुटाकुट भएको छ।

आइतबार दिउँसो रवि लामिछानेविरुद्ध मुद्दा हालेका युवराज पौडेल परिसर पुगेपछि युट्युबरले घेरेका थिए।

त्यही क्रममा पौडेललाई युट्युबर र आफूलाई सामाजिक अभियान्ता बताउने भिडले उनलाई घेरेको थियो।

रवि लामिछानेविरुद्ध मुद्दा हालेको भन्दै तथानाम गाली गरेका युट्युबर र ती समूहले युवराजलाई प्रहरीकै अगाडि बारम्बार हातपातसमेत गरेका थिए।

युवराजले आफूहरूलाई पैसा खाएको आरोप लगाएको भन्दै उनीहरूले युवराजलाई र्‍याखर्‍याख्ती पारेका थिए। युवराज भने प्रहरी कार्यालयभित्र छिर्न प्रयास गरिरहेका थिए। तर प्रहरीले उनलाई भित्र जान दिएनन् र कुटपिटबाट पनि जोगाएनन्।

पछि युवराज पक्षका युवामाथी युट्युबरसहित पुगेको समूहले हातपात गरेका थिए। रवि लामिछानेले ती अभियान्ता बताउने समूह र युट्युबरलाई रवि लामिछानेले पैसा दिएर आफ्नो पक्षमा बोल्न लगाएको युवाराजले आरोप लगाएको भन्दै उनीहरू आक्रोशित भएका थिए।

रवि लामिछानेविरुद्ध नागरिकताको मुद्दा लगाएका युवराजले हाल पासपोर्ट दुरुपयोगको कसुरमा पनि मुद्दा दायर गरेका छन्। सर्वोच्चमा यो मुद्दा विचाराधीन छ।