दुई करोडको प्रसंग सेलाउन नपाउँदै सांसद ढाकासँग सम्वन्धित अर्को अडियो सार्वजनिक

२८ चैत्र २०७९, मंगलवार ११:४८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वापा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको दुई दिन नबित्दै पुनः अर्को अडियो सार्वजनिक भएको छ ।
पछिल्लो अडियोको प्रसंग पनि प्रसाईँ र श्रेष्ठसँगै जोडिएको छ । अडियोमा प्रसाईँ र डा. श्रेष्ठको भाई भनि परिचय दिने व्यक्तिबीचको संवाद सुनिन्छ । संवादमा आफुलाई डा. श्रेष्ठको भाई भन्ने व्यक्तिले प्रसाईँ सांसद पद गएको र पार्टीले साधरण सदस्यताबाट समेत हटाउन लागेको भनेका छन् ।
जवाफमा प्रसाईँले घटनामा दोष डा. श्रेष्ठको नभाई पैसा माग्न लगाउनेको रहेको भनेका छन् । संवादका क्रममा डा. श्रेष्ठले प्रसाईँलाई भेट्न चाहेको प्रसंग पनि सुनिन्छ । संवादमा भाईले भनेका छन्,‘ दाईले एक पटक भेट्न खोज्नु भएको थियो । दाई कता हुनुहुन्छ कुन्नी ?’ जवाफमा प्रसाईँले भनेका छन्,‘म आज विरगंजको कार्यक्रममा छु । मलाई भरे बेलुका भेट्न भनिदिनु न त ल ।’
कपुरबोट यूट्यूव च्यानलबाट सार्वजनिक भएको संवादमा दुर्गा प्रसाईँका सहयोगी यदु गौतमसँग भएको कुराकानी पनि देखाईएको छ । गौमसँग संवाद गर्ने व्यक्तिले पनि आफु डा. श्रेष्ठको भाई भएको बताएका छन् । उनले प्रसाईँसँग वार्ता गराई दिन गौतमलाई आग्रह गरेका छन् । सार्वजनिक भएको अडियोको सम्वन्धमा सकारात्मक टिप्पणी गरिदिन पनि उनले गौतमसँग भनेका छन् ।
आइतवार डा. श्रेष्ठ भनिने व्यक्तिले प्रसाईँसँग दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको थियो । स्वास्थ मन्त्री बन्न पार्टीलाई दुई करोड रुपैयाँ बुझाउने पर्ने भन्दै डा. श्रेष्ठले प्रसाईँसँग दुई करोड रुपैयाँ माग गरेका थिए । अडियो सार्वजनिक भएपछि रास्वपाले डा. श्रेष्ठलाई पार्टीको साधरण सदस्यताबाट समेत हटाउने निर्णय गरेको छ ।

यस्तो छ, प्रसाई र डा. श्रेष्ठको भाईबीचको संवाद
प्रसाईँ –अनि के हो भन्नु त ? तपाई डा. ढाकाको भाई ?
भाई –हजुर ।
प्रसाईँ – अँ, भन्नु त सर । के हो कुरो ?
भाई – त्यही त दाई । अब, पार्टीले कारबाही गर्ने भयो । दाईको अब साधरण सदस्यता पनि नरहने भयो । अनि, सांसद पद पनि जाने भो क्यारे ।
प्रसाईँ –मैले अब के गर्दा हुन्छ भन्नु न त ? मैले इन्टरभ्यूमा के भने, त्यो माग्न लगाउने त ढाकाको गल्ति होइन नी । माग्न लगाउने मान्छेको पो गल्ति हो त । कुरो बुझ्नु भएन भाई ?
भाई – सोझा मान्छेलाई फसाए । दाईले बुझिदिनु प¥यो ।
प्रसाईँ – ठिक छ । म सहयोग गरिहाल्छु नी ।
भाई –दाईले एक पटक भेट्न खोज्नु भएको थियो । दाई कता हुनुहुन्छ कुन्नी ?
प्रसाईँ – म आज विरगंजको कार्यक्रममा छु । मलाई भरे बेलुका भेट्न भनिदिनु न त ल ।
भाई –हजुर बिरगंज कहाँ हुनुहुन्छ ?
प्रसाईँ – बिरगंज अहिले म कार्यक्रम आइरहेको छु नी । बैंक, लघुवित्त र सहकारीले सिध्याई हाल्यो । रबि लामिछानेहरु लुट्न गएका छन् त्यहाँ । तपाईले बुझ्न भयो ? मलाई एउटा कुरा चित्त नबुझेको क्या । सांसद बनाउँदा पनि पैसा लिने । मन्त्री बनाउँदा पनि पैसा लिने । यो त भएन नी पार्टी अध्यक्षहरुको ।
भाई – यो त खै अब दाईहरुको के हो । त्यही त दाईले एक चोटी कुरा गर न त भन्नुभएको थियो क्यारे ।