जयाको आँखाबाट खसेको त्यो आँशु, जसले अमिताभलाई रेखासंग अलग राख्न सफल भयो

२७ चैत्र २०७९, सोमबार १२:३७

बलिउड अभिनेत्री जया बच्चन आफ्नो अभिनय कुशलता तथा उनको सुन्दरताले लाखौं दर्शकको मनमा बस्न सफल छिन् । उनले सिलसिला, गुड्डी, जंजिर, अभिमानजस्ता विभिन्न सुपरहिट फिल्ममा अभिनय गरेकी छिन् । जया बच्चनले १५ वर्षको कलिलो उमेरमा अभिनय क्षेत्रमा कदम राखेकी थिइन् ।

फिल्मबाहेक पनि जया आफ्नो नीजि जीवनका कारण पनि चर्चामा रहेकी छिन् । बलिउड अभिनेता अमिताभ बच्चनसंग विवाह भएपछि जयाको जीवनमा विभिन्न परिवर्तन आए । बलिउड सुपरस्टारकी श्रीमती हुन जयाका लागि सजिलो थिएन । लाखौँ महिला अमिताभका दिवाना थिए । त्यस्तै रेखा र अमिताभको प्रेम सम्बन्ध आज पनि चर्चाको विषय बनेको छ । यस्तो स्थितिमा जयाले आफुलाई सम्हाल्न निकै कठिन रह्यो ।

आफूले अमिताभ र रेखालाई रोमान्टिक हुँदै गरेको देखेर आफू असह्य भएको कुरा जयाले एउटा कार्यक्रममा बताएकी थिइन् । कुरा ‘मुकद्दर का सिकन्दर’ को ट्रायल शोको समयको हो । जहाँ बच्चन परिवारका सबै सदस्य उक्त शो हेर्न पुगेका थिए । तब अमिताभसंग रेखाको रोमान्टिक सीन आयो, उक्त दृष्य देखेर जयाको आँखामा आँशु आयो ।

उक्त ट्रायलको एक हप्तापछि नै अमिताभले अब रेखासंग कुनै पनि फिल्म नखेल्ने कुराको जानकारी सबै निर्मातालाई दिए । जब अमिताभको निर्णयको कुरा रेखाले थाहा पाइन्, तब उनले तुरुन्तै अमिताभलाई के कारण यस्तो निर्णय गरेको भन्ने प्रश्न गरेकी थिइन् । जसको जवाफमा अमिताभले ‘म यस बारेमा केहि भन्न चाहन्न, मलाई यसबारेमा केहि नसोध’ भनेका थिए । अमिताभको यस्तो निर्णयपछि आजसम्म पनि अमिताभ र रेखाले संगै काम गरेका छैनन् ।