
सुदूरपश्चिम प्रदेशमा दुई सातामा एक सयभन्दा बढी संक्रमित थपिएका छन्। प्रदेशका विभिन्न जिल्लामा गरी संक्रिय संक्रमितको संख्या एक सय नाघेको हो।
खासगरी भारतबाट फर्कनेहरुमा कोरोना संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा कोरोना परीक्षण गर्ने काम तीव्र पारिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा चैत १० गतेसम्म कोरोना संक्रमितको संख्या शून्य थियो। दुई हप्ता नपुग्दै संक्रमितको संख्या एक सय पुगेको छ।
नयाँ वर्ष र बिसु पर्व मनाउन छिमेकी भारतबाट धमाधम घर फर्किन थालेपछि दिन प्रतिदिन कोभिड संक्रमण बढन् थालेको हो।
पछिल्ला दुई सातायता कोभिड संक्रमण बढ्न थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले बताउनुभयो।
‘सुदूरपश्चिम प्रदेशका आधिकारीक पाँच वटा नाकाबाट स्वदेश फर्किरहेकाहरुमा कोभिड देखिन थालेको छ। भारतमा जसरी संक्रमण दर बढीरहेको छ, त्यहाँबाट नेपाल फर्कनेहरूमा पनि संक्रमण देखा पर्न थालेको छ’, उनले भने।
खासगरी कैलाली र कञ्चनपुरमा बढी संक्रमित देखिएका हुन्।
