काठमाडौं महानगरपालिका क्षेत्रभित्र सडकपेटी र सडकमा पर्ने प्रहरी बिट भत्काउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आग्रह गरेका छन् ।
नेपाल प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको शनिबार सामाजिक सञ्जालमार्फत उनले बताए। उनले ती संरचना प्रहरीले आफै हटाइदिन आग्रह गरेका छन् । अन्यथा समतामूलक कानूनको प्रयोग गरी संरचना भत्काउन बाध्य हुने चेतावनी उनले दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ । कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ । राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ । कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।”
