मासु र अन्डाको तस्करी रोक्न गृहमन्त्रीलाई आग्रह

२६ चैत्र २०७९, आईतवार ०८:५१

नेपाल दाना उद्योग संघ र नेपाल ह्याचरी उद्योग संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतबाट कुखुराको मासु र अन्डाको तस्करी रोक्न आग्रह गरेका हुन् । दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेर तस्करीका कारण उद्योगीहरू समस्यामा परेको जानकारी गराएका हुन् ।

नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको, तर भारतबाट बढेको तस्करीले करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको उनीहरूले जानकारी दिए । पाँच लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अन्डा उपलब्ध गराउँदै आएको व्यवसाय अवैध तस्करीले संकटमा परेको दुवै संघका प्रतिनिधिले गृहमन्त्रीलाई जानकारी गराएका हन् ।

‘नेपालको पोल्ट्री क्षेत्रमा सबैभन्दा प्रमुख समस्या देशको खुला सीमानाका छ । भारतीय सीमानाकाबाट अवैध रूपमा पोल्ट्रीजन्य वस्तुहरू चल्ला, कुखुरा, तयारी मासु र अन्डा दिनहुँ भित्रिँदा यस पेसालाई अत्यन्त ठूलो जोखिम रहेको छ,’ गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

भारतबाट प्रज्ञापनपत्र लिएका मालवाहक कन्टेनरहरूमा स्विट कर्न, फ्रेन्च फ्राई मात्र उल्लेख भई भन्सार कार्यालयबाट पास भएमा मालवाहक कन्टेनरमा कुखुराको मासु, माछा भेटिने गरेको भन्दै उनीहरूले भन्सार जाँचमा कडाइ गर्न पनि आग्रह गरेका हुन् ।

नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, वीरगन्ज, बारा, पर्सा, रौतहट, सर्लाही, मलंगवा, जलेश्वर, विराटनगर नाकाहरूबाट अवैध रूपमा कुखुरा, तयारी मासु, चल्ला, अन्डा आयात हुने गरेको उनीहरूको दाबी छ । विशेष गरी भारतीय सीमानाकाका जिल्लामा सञ्चालित कोल्ड स्टोर्सहरूले भारतबाट अवैध रूपमा कुखुरा आयात गरी ड्रेसिङ गरेर नेपालका प्रमुख सहरमा कुखुराको मासु निर्यात गरिरहेको उनीहरूले बताएका छन् । व्यवसायीको गुनासो सुनेपछि गृहमन्त्री श्रेष्ठले सरकार ह्याचरी मात्र नभई कुनै पनि प्रकारको तस्करी हुन नदिने गरी अगाडि बढेको बताए ।