चित्रबहादुरले भने-‘मैले थोरै बोलेको थिएँ, प्रचण्डले धेरै बुझे’

२४ चैत्र २०७९, शुक्रबार १३:५८

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले न्युनतम साझा कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरेर पूर्ण समर्थन गरेको भनी प्रचण्ड सरकारले भ्रम छर्न खोजेको आरोप लगाएका छन् ।

आयोखबरसँग कुरा गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका अध्यक्ष केसीले बालुवाटारमा आफुले राखेको धारणा प्रधानमन्त्री प्रचण्डले होलसेलमा बुझेर झमेला निम्त्याएको आरोप लगाएका हुुन् ।

उनले भने, ‘मेरो डिजिटल हस्ताक्षर दुरुपयोग गरेको वा फसाउन खोजेको भनेर पनि नभनिहालौँ । उहाँहरुले मलाई के फसाउनु हुन्थ्यो र ? बढ्ता बुझ्नु भएको चाँहि पक्का हो । मैले भनेका कुरामा उहाँ (प्रधानमन्त्री) झुक्किनु भयो । मैले प्रवासी नेपालीले मताधिकार पाउनु पर्ने लगायत केही कुरा सकारात्मक छन् । बाँकी ठूला विषयमा हाम्रो विमत्ति कामयै छन् भनेर निस्केको थिएँ, बालुवाटारबाट । तर, उहाँले न्युनतम साझा कार्यक्रम सब ठीक छ, भन्ने बुझेर मेरो पनि हस्ताक्षर राखिदिनु भएछ ।’

जनमोर्चाले संघीयता, नागरिकता र संक्रमणकालिन न्यायका सन्दर्भमा गम्भीर आपत्ति जनाउँदै आएको छ । अध्यक्ष केसीले अगाडि भने, ‘भरखरै मात्रै संघीयता विरोधी सभामा भाषण गरेर आएँ । नागरिकतामा हाम्रो गम्भीर आपत्ति छ । त्यस्तै, संक्रमणकालिन न्याय पनि टालटुले पाराले टुंग्याइनु हुँदैन । त्यसमा दूधको दूध, पानीको पानी छ्ट्याइनु पर्दछ । संघीयता त हाम्रो मुद्दा हुँदै होइन, हामी संघीयताकाविरुद्ध उभिएका छौँ । नागरिकताको सवालमा पनि गम्भीर आपत्ति जनाएका छौँ । मात्र, के भने संविधान संशोधनका कारण कतै जनताका महत्वपूर्ण कामहरुमा बाधा आइरहेको भए, त्यसमा केही सकारात्मक हुन सकिन्छ भन्ने धारणा मात्रै हो ।’ तर, सरकारको न्युनतम साझा कार्यक्रमलाई हामीले पूर्ण समर्थन गरेका छैनौँ ।

बिहीबार सत्ता साझेदार दलका प्रमुख नेताहरुको हस्ताक्षर राखेर सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको थियो । त्यसमा केसीको पनि डिजिटल हस्ताक्षर प्रयोग भएको छ ।

केसीले शुक्रबार विज्ञप्ति समेत जारी गरेर दश दलको नाम राखेर जारी गरिएको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकता लगायतका विषयमा पार्टीको गम्भीर आपत्ति रहेको जानकारी दिएका छन् । मतभेद कै कारण विगतको पाँच दलीय सरकारले जारी गरेको न्युनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको र त्यो नीति अहिले पनि कायमै राख्ने केसीले वक्तव्यमाा उल्लेख गरेका छन् ।

अध्यक्ष केसीले लोकतन्त्र जोगाउने सन्दर्भमा मात्रै आफुहरुले सत्ताधारी दलसँग सहकार्य गरेको बताएका छन् । उनले भने, ‘हाम्रो कुनै लेनदेन वा स्वार्थ छैन । मात्र लोकतन्त्र जोगाउन सवालमा मात्रै सत्ताधारी कित्तामा उभिएका हौँ ।’