
वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागु हुने भएको छ ।
निर्वाचन आयोगले विज्ञप्ति नै जारी गरेर चैत २४ अर्थात् शुक्रबारदेखि आचारसंहिता लागु हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जारी गरेको वक्तव्य अनुसार चितवन, बारा र तनहुँ जिल्लाभर उपनिर्वाचन सम्मपन्न नभएसम्मका लागि आचारसंहिता लागु हुनेछ ।
गत मध्यावधि निर्वाचनमा (हाल राष्ट्रपति) रामचन्द्र पौडेलले जितेको तनहुँ क्षेत्र नम्बर १, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जितेको चितवन क्षेत्र नम्बर २ र हाल उपराष्ट्रपति निर्वाचित रामसहाय यादवले जितेको बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
निर्वाचन आचारसंहिता परिपालनाको पहिलो नम्बरमा संघ सरकार र मन्त्रीहरु जिम्मेवार ठहरिनेछन् । दोस्रोमा प्रदेश सरकार र त्यसका मन्त्रीहरु, तेस्रोमा संवैधानिक निकाय र त्यसका पदाधिकारीले बढ्ता ख्याल गर्नु पर्ने छ । त्यसपछि अन्य वरियताक्रम हुँदै वस्तु तथा सेवाको विक्रि वितरण गर्ने संस्था एवं व्यक्ति समेतले आचारसंहिता कुल्चिन पाइने छैन ।
उपनिर्वाचन हुने तीन जिल्ला बाहेकका अन्य जिल्ला प्रदेश वा संघबाट सामाजिक सञ्जाल, इन्टरनेट वा टेलिफोनका माध्यमबाट हुने सम्भावित प्रचार-प्रसारबारे भने आयोगको विज्ञप्तिले केही बोलेको छैन ।
आचारसंहिताबारे जारी विज्ञप्ति प्रष्ट नभएकोबारे आयोगका प्रवक्ताले स्पष्ट जवाफ दिन सकेनन् । कानून शाखाका अधिकारी गुरु वाग्लेले ‘खास गरी निर्वाचन आचारसंहिता २०७९ अनुसार नै चल्नु पर्ने र हाल तीन जिल्लाबाहेक अन्य ठाउँबाट गरिएका प्रचार वा गतिविधिले खास अर्थ नराख्ने भएका कारण विज्ञप्तिले धेरै कुरा नबोलेको हो’ भनी तर्क राखे ।
विज्ञप्तिको भाषा राम्ररी नहेरिएको कुरा चाहिँ आयो खबरसँग दुबै अधिकारीले स्वीकारेका छन् ।
