विहारका पूर्वमुख्यमन्त्री यादव पक्राउ

९ पुष २०७४, आईतवार ०२:०३

भारतीय न्यूज एजेन्सी
पुस ९ काठमाडौं । विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई ‘चारा घोटला’ प्रकरणमा भ्रष्ट्रचारी ठहर गरी पक्राउ गरिएको छ । यो प्रकरणमा अन्य १५ जनालाई पनि दोषी ठहर गरिएको छ । सात जनालई भने अदालतले सफाई दिएको छ । सफाई पाउनेमा मुख्यमन्त्री जगन्नाथ मिश्रसमेत रहेका छन् ।

विशेष अदालतले सो प्रकरणमा दोषी ठहर गरेपछि शनिवार यादवलाई पक्राउ गरिएको हो । भारतको केन्द्रीय जाँच ब्यूरोले यो प्रकरणलाई अगाडी बढाएको हो । सन् १९९१ देखि १९९४ बीच सत्तामा रहँदा यादवले राज्यकोषबाट ८५ लाख भारतीय रुपैयाँ ‘चारा घोटला’ का नाममा हिनामिना गरेको भन्दै विशेष अदालतले त्यसमा दोषी ठहर गरेको हो । पशुपालन विभागका अधिकारी र ठेकेदारसँग मिलेर चारा घोटला गरिएको थियो ।

विशेष अदालतले शनिवार फैसला सुनाएलगत्तै अदालत परिसरबाटै यादवलाई पक्राउ गरिएको हो । भारतीय सञ्चार माध्यमले जनाएअनुसार यादवलाई दोषी ठहर गरेपनि सजाय भने आउँदो जनवरी ३ मा सुनाइने भएको छ ।