छायांकनमा फिल्म ‘दुई कदम’

२१ चैत्र २०७९, मंगलवार १४:२८

उदय सुब्बाको निर्देशनमा बन्न लागेको फिल्म ‘दुई कदम’ को छायांकन भइरहेको छ।

चैत १६ गतेदेखि फिल्मको छायांकन मुस्ताङमा भइरहेको हो। मुस्ताङपछि फिल्मको धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि छायांकन गरिनेछ। निर्माण टिमले भदौमा प्रदर्शन गर्ने लक्ष्य राख्दै फिल्मको छायांकन गरिएको छ।

अजम्बरी फिल्म्सको ब्यानरको फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ (भंगेरी), कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बुलगायत कलाकारको अभिनय रहनेछ। फिल्मलाई विक्रम डिसीले छायांकन गरिरहेका छन्।

दयाराम घिमिरेको कथा रहेको फिल्मलाई तारा देवी लिम्बुले निर्माण गरिरहेकी छन्। फिल्ममा तारा प्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन छ।