नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेट गरी अर्थतन्त्र संकटोन्मुख हुँदा उद्योग व्यवसायमा समस्या परेको अवगत गराएको छ। अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने अध्यक्ष शेखर गोल्छाले बताए। ‘अहिले बजारमा तरलता प्रवाह बढाउनुका साथै अन्य उपकरणको प्रयोग गरी ब्याजदर घटाउनु पर्छ,’ उनले भने। बजारमा माग नहुँदा उद्यम व्यवसाय आधाभन्दा कम क्षमतामा चलिरहेको अध्यक्ष गोल्छाको बताए।
‘अब अवस्था सहज बनाउन सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनै पर्छ,’ अध्यक्ष गोल्छाले भने,‘वितरणमुखी हुने कुरामा हामी गयौं भने संकटमा पर्छौ।’
वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध भएसम्मका सबै उपाय र उपकरण प्रयोग गरेर भए पनि बजारमा लगानी बढाउन र निजी क्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नुपर्ने सुझाव राखे।
महासंघ स्टार्ट अप तथा इनोभेसन समितिका सभापति रञ्जित आचार्यले हालै जारी भएको स्टार्टअप कर्जा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि पनि नीति आवश्यक रहेको बताए।
सो अवसरमा उद्योग मन्त्री रिजालले सुझावलाई कार्यान्वयन गर्न महासंघसँग नियमित संवाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए। स्टार्टअप नीतिबारे सबैसँग सल्लाह गरी पारित गर्ने आश्वासन पनि दिए।
