अहिलेको डिजिटलाइजेसनको युगमा हरेक काम अनलाइनमा हुने गरेका छन् । यतिसम्म कि भैँसीको किनबेच समेत अनलाइनमा हुन थालेको छ ।
तर अनलाइनको किनमेल सधैं सुरक्षित हुँदैन रहेछ । भारतको मध्यप्रदेशमा अनलाइनबाट भैँसी किन्ने ध्याउन्नमा एक जना किसानले ८७ हजार भारु गुमाएका छन् । फेसबुकमा विज्ञापन देखेर भैँसी किन्ने निर्णयमा पुगेका ती किसानले भैँसी मालिक भनिएका व्यक्तिलाई पटक पटक गरी भैँसीको मूल्य ८७ हजार भारु पठाइदिएको भए पनि उनले भैँसी प्राप्त गरेनन् ।
मध्यप्रदेशको ग्वालियरका होतम सिंह बघेल नामका किसान यस्तो दुखलाग्दो ठगीमा परेका हुन् । जयपुरमा रहेको भनिएको एक डेरी फर्मको नामबाट बनाइएको फेसबुक पेजमा राखिएको भैँसीको विज्ञापनबाट प्रभावित भएर बघेलले सो भैँसी खरीद गर्ने निर्णय गरेका थिए । त्यो सँगै उनले विज्ञापनमा दिइएको नम्बरमा सम्पर्क गरी अशोककुमार शर्मा नामका व्यक्तिसँग कुराकानी गरे र सुरुमै ४२ हजार भारु अग्रीम भुक्तानी गरे अनलाइनमार्फत् नै ।त्यसपछि भैँसी बिक्रेता दाबी गरेका शर्माले भैँसी लोड गरेर गाडी हिँडेको तर जीपीएस सिस्टम बिग्रिएका कारण ट्रयाक गर्न नसकिएको भन्दै भैँसी लिएर आउनेलाई खाना तयार पार्न समेत भनेका थिए । सोही बमोजिम खाना बनाए र भैँसी सहितको गाडी आउने पर्खाइमा बसे ।
साथै उनले अशोक सिंहको माग अनुसार पटक पटक गरी त्यसबीचमा ८६ हजार ७०० पठाइदिए । तर जब उनले त्यतिधेरै रकम पठाए तब शर्माले भैँसीको दुर्घटना भएको बताउन थाल्यो ।
त्यसपछि बघेलले आफूमाथि ठगी भएको चाल पाए । अनि प्रहरी कार्यालयमा गएर उजुरी गरे । प्रहरीले शर्माको खोजी गरिरहेको बताएको छ ।
