मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु

१७ चैत्र २०७९, शुक्रबार ११:२१

सुर्खेत र गोरखामा भएका दुई छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका–७ शिवालय चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार एकजना घाइते भएका छन्।

मृतु हुनेमा सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाका २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो । घाईते भएका उनलाई उपचारको लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।
घाइते भएका पछाडी सवार बाँकेको बैजनाथ गाउँपालिका ३ का २२ वर्षीय सुशील चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२–००१ प ४९८७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टीएको थियो । मृतक र घाईते दुबै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गोरखाको भिमसेनथापा गाउँपालिका १ निवेलमा मोटरसाईकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कृष्णसरवण गाउँपालिका२ का २३ वर्षीय लक्ष्मी कान्त चौधरी रहेका छन् । घ्याम्पेसालबाट निवेल तर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरी चौकी घ्याम्पेसालले जनाएको छ ।