१४ लाख स्रोत नखुलेको नेपाली रुपैयाँसहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा धाम नगरपालिका–२, का ५५ वर्षीय जोगिन्द्र यादव र सोही ठाउँका १९ वर्षीय कृष्ण साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार जनकनन्दी गाउँपालिका–५, बनरझुल्लास्थित सडक खण्डबाट दुवै जनालाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएका संयुक्त प्रहरी टोलीले सवारी जाँचका क्रममा जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ७०४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा यादवको साथबाट १० लाख र सोही मोटरसाइकलमा पछाडि बसेका साहको साथबाट चार लाख नेपाली रुपैयाँ बरामद भएको उनले जानकारी दिए ।
