प्रधानमन्त्रीको बारेमा भारतले लियो चासो

९ चैत्र २०७९, बिहीबार २०:५४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वैशाखको दोस्रो हप्तासम्म भारत भ्रमणमा जाने भएका छन् ।

वैशाखको दोस्रो हप्तासम्म प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छन्। बिहीवार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीहरूसँगको भेटवार्ताका क्रममा न्युज एजेन्सी नेपालका दिल्ली प्रतिनिधिसँग कुरा गर्दै मन्त्री शर्माले सो जानकारी दिएकी हुन्।

उनले प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन्।

उनले भनिन्, ‘उहाँहरूले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो, हामीले प्रधानमन्त्रीले सम्भवतः भारत भ्रमणबाट नै विदेश भ्रमण हुन्छ भनेका छौँ । सरकारले विस्तार पाएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ । अप्रिल महिनामा हुन्छ ।’

इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको पनि मन्त्री शर्माले बताइन्।