रेडियोको स्थापनासँगै शिशु अवस्थामा रहेको प्रजातन्त्रको सुदृढीकरण– प्रधानमन्त्री

९ चैत्र २०७९, बिहीबार १५:२७

सामाजिक रुपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड”ले बताएका छन्।

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७औँ साधारणसभालाई सम्बोधन गर्दै उनले जनताको सूचनाको हकको कार्यान्वयनका लागि सरकारको मुख्य साझेदारका रुपमा नेपालका सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।

उनले भने, “नेपालको सन्दर्भमा सामुदायिक रेडियोले एफएम प्रविधिबाट नेपाली जनताको सूचनको हकका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारको मुख्य साझेदारका रुपमा नेपालका सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।”

सूचनामा नागरिकको पहुँच बढाउन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, मानव अधिकार, विधिको शासन, सामाजिक रुपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनका लागि गरिएका विभिन्न आन्दोलन, न्याय, समानता र स्वतन्त्रताका पक्षमा भएका आन्दोलनमा सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।

उनले भने,“शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा सामुदायिक रेडियोले निर्वाह गरेको भूमिका इतिहासमा नै अविस्मरणीयरुपमा स्थापित छ ।” विश्वमा रेडियोको इतिहास एक सय २८ वर्ष पुरानो भएको स्मरण गर्दै उनले नेपालमा २००७ सालमा पहिलोपटक प्रजातन्त्र रेडियो नेपालको स्थापना भएसँगै विद्युतीय सञ्चारमाध्यमको प्रारम्भ हुन पुगेको र रेडियोको स्थापनासँगै शिशु अवस्थामा रहेको प्रजातन्त्रको सुदृढीकरण र जनसमुदायमा लोकतान्त्रिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुगेको स्मरण गरे।