प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लाओसविरूद्धको खेलमा नेपालले एक गोलले अग्रता लिएको छ।
दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले एक गोल गरेको हो। नेपालका लागि अनन्त तामाङले ३२ औं मिनेटमा हेडिङमार्फत गोल गरेका हुन्।
लाओसले भने नेपालविरूद्ध गोल गर्न सकेको छैन। नेपाली खेलाडीहरु किरणकुमार लिम्बू (कप्तान, गोलकिपर), विकास खवास, अनन्त तामाङ, नवीन लामा, एरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ, रोहित चन्द रहेका छन् ।
खेलमार्फत् नेपाली टिममा सनिष श्रेष्ठले डेब्यू गरिसकेका छन्। प्रतियोगितामा नेपाल र लाओससँगै भुटानको रहेको छ। फिफा वरियतामा नेपाल १७५, भुटान १८५ र लाओस १८७ स्थानमा छन्।
नेपालले दुवै टिमसँग अहिलेसम्म पराजय भोग्न परेको छैन। गत डिसेम्बरमा लाओसले बलियो मानिएको म्यानमारसँग २–२ गोलको बराबरी खेलेको थियो। त्यसयता लाओसले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।
भुटानले भने तीन वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। सन् २०१९ यता भुटानले अन्तर्राष्ट्रिय खेल खेलेको छैन। नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। त्यसअघि माघ ११ मा लाओस र भुटानबीच खेल हुनेछ।
समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्। फाइनल चैत १७ मा साँझ ५ः३० बजे हुनेछ।
