सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर हुनेको संख्या बढेसँगै उपचार खर्च साधारण व्यक्तिले धान्नै नसक्ने अवस्थामा पुगेको विषयमा एक अनुसन्धानमूलक रिपोर्ट सार्वजनिक भएको छ ।
सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान उपचार सेवा लिन आउने सेवा ग्राहीहरूको आर्थिक भार सम्बन्धी एक्सन नेपाल काठमाडौँले गरेको अनुसन्धानले सुर्ती सेवन गरी क्यान्सर भएका धेरैको घरपरिवार उजाड भएको खुलासा गरेको छ ।
एक्सन नेपालले सन् २०१९ मा सरकारी र निजी भरतपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल हरिसिद्धि र भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएका मध्ये सुर्तीजन्य पदार्थ सेवन गरी क्यान्सर भएका १ सय ३ जना क्यान्सरका बिरामीहरुमा अध्ययन अनुसन्धान गरेको संस्थाका अध्यक्ष आनन्द बहादुर चन्दले मंगलबार एक कार्यक्रमको आयोजना गरी रिपोर्ट सार्वजनिक गरे।
उक्त अध्ययन रिपोर्ट अनुसार सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगको पहिचान र उपचारमा ९ लाख ८१ हजार ३ सय ७० खर्च लाग्ने देखाएको छ । अनुसन्धानमा १८ वर्ष देखि ६५ वर्ष सम्मका अस्पताल भर्ना भई क्यान्सरको तेस्रो र चौथो चरणमा उपचार गराई रहेका बिरामीलाई समेटिएको चन्दले जानकारी गराए।
अनुसन्धान व्याख्यात्मक, क्रस–सेक्सनल तथा परिणात्मक ढाँचा विधि प्रयोग गरी गरिएको र संरचित बन्द समाप्त प्रश्नावली प्रयोग गरी बिरामी तथा बिरामीका आफन्तहरुलाई अन्तर्वार्तामा सहभागी गराई गरिएको जानकारी गराइयो । अनुसन्धान मुख्यतया ३ वटा शीर्षक – पहिलो प्रत्यक्ष मेडिकल खर्च– क्यान्सर पता लगाउन र उपचार गर्न लाग्ने खर्च, दोस्रो प्रत्यक्ष नन मेडिकल खर्च– यातायात,खाना तथा बास खर्च र तेस्रोमा क्यान्सरको कारणले बिरामी तथा बिरामीको आफन्तको गुमेको आय० मा केन्द्रित रहेको चन्दले बताए।
नमुना छनोटः उद्देश्यपूर्ण विधि अपनाई नेपालका ४८ प्रतिशत सरकारी तथा ५२ प्रतिशत निजी अस्पतालमा सुर्तीजन्य पदार्थको सेवन गरी क्यान्सर रोग उपचारको लागि भर्ना तथा डिस्चार्ज भएका १ सय ३ जना बिरामीहरु बिरामीको चाँपका आधारमा (बिपि कोइराला मेमोरियल अस्पताल भरतपुरबाट ४९ जना, भतmपुर क्यान्सर अस्पताल बाट २८ जना र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि बाट २६ जना) छनोट गरिएको जानकारी गराइयो ।
प्रश्नावलीमा उत्तर दाता समावेश मापदण्ड यसप्रकार बनाइएको थियो । बिरामीको उमेर समूह १८ देखि ६५ वर्ष र २००३–२०१२ क्यान्सर रजिष्ट्री रिपोर्टद्वारा परिभाषित ओठ, जिब्रो गिजा, मुख, स्वर यन्त्र, श्वास नली, पिसाब थैली लगायतको क्यान्सर तेस्रो तथा चौथो चरणमा पुगेका बिरामीलाई समावेश गरिएको जनाएको छ । मुख्य गरी सुर्तीजन्य पदार्थ सेवन गरी क्यान्सर लागेका बिरामी वा बिरामीका आफन्तहरुलाई मात्र अनुसन्धानमा समेटिएको जानकारी गराइयो ।
अनुसन्धानका आधारमा प्राप्त नतिजा नियाल्दा सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगका बिरामीको औसत उमेर ५३ दशमल्भ ५ वर्ष रहेको पाइयो । त्यसैगरि एक चौथाइ टोबाको क्यान्सर बिरामीहरु ५५ देखि ५९ उमेर समूह अन्तर्गत रहेको पाइयो । त्यस्तै तेस्रोमा झन्डै ४६ प्रतिशत बिरामीहरु निरक्षर पाइए भने १ दशमल्भ ९ प्रतिशत बिरामी उच्च शिक्षा हासिल गरेका पनि पाइए । चौथो नम्बरमा निरक्षर व्यतिmहरुमा सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर साक्षरभन्दा बढी भएको पाइयो ।
क्यान्सरको उपचारका लागि आम्दानीको प्रमुख स्रोत भनेको कृषि ४२ दशमल्भ ७ प्रतिशत, व्यापार २२.३ प्रतिशत,दैनिक ज्याला मजदुरी ११.७ प्रतिशत सरकारी सेवा ८.७ प्रतिशत र वैदेशिक रोजगार ८.७ प्रतिशत रहेको पाइयो । यसले सबैभन्दा बढी कृषि र सबै भन्दा कम सरकारी पेसा र वैदेशिक रोजगारी गर्नेबाट उपचार खर्च धान्नुपरेको देखियो । अध्ययन अनुसार १६ प्रतिशत क्यान्सरका बिरामीले घर जग्गा बेचेर उपचार गर्ने गरेको पाइयो ।
अध्ययन रिपोर्टमा उल्लेख भए अनुसार २७.२ प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार खर्च बेहोर्ने र ६० प्रतिशत बिरामीले आफन्तबाट ऋण लिई खर्च व्यहोर्ने गरेको पाइयो । सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगको पहिचान तथा उपचार गर्न लाग्ने औसत खर्च मध्ये ६० प्रतिशत प्रत्यक्ष मेडिकल खर्च रहेको छ भने १३ प्रतिशत प्रत्यक्ष नन मेडिकल लागत रहेको छ । यसैगरि बिरामीका कारण एक वर्षमा २ लाख ७९ हजार ४ सय ८२ (२७ प्रतिशत) ज्याला आम्दानीमा हानी हुने गरेको उत्तरदाताले दिएको जानकारी रिपोर्टमा उल्लेख गरिएको छ ।
यसका साथै क्यान्सर उपचारमा बढी खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झन्डै ४ गुणा बढी खर्च गरेको पाइयो । बिरामीलाई सबै भन्दा बढी खर्च केमोथेरापीमा २८ प्रतिशत रहेको छ ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर को आर्थिक भार अत्यधिक छ । सरकारले क्यान्सरको उपचारको लागि रु १ लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ जुन जम्मा प्रत्यक्ष मेडिकल खर्चको एक चौथाइ भन्दा पनि कम रहेको छ । बिमा सुविधाले क्यान्सरको उपचार खर्च समेट्ने गरेको पाइँदैन । तसर्थ नेपाल सरकारले पीडित गरिब बिरामीलाई राहत पुग्ने गरी अनुदानको रकम बढाउनु पर्ने देखिन्छ । हाल नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने करको दर ३३ प्रतिशत भन्दा तल रहेको छ । उतm करको दर कपडा र प्रशोधित खाद्यान्नमा लाग्ने भन्दा पनि कम भएको चन्द बताए।
सुर्तीजन्य पदार्थमा कर बढाउने विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर कम्तीमा ७५ प्रतिशत गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार करको दर वृद्धि गर्न अति आवश्यक देखिन्छ । यसरी सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्दा सरकारको आम्दानी बढ्ने, सुर्तीजन्य पदार्थ महँगो भई सेवनमा कमी आउने, अतिरिक्त आम्दानीलाई स्वास्थ्य प्रर्बदनका क्षेत्रमा लगानी गर्न तथा अनुदान दिन प्रयोग गर्न मिल्ने भएकोले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर उल्लेख्य रुपमा बढाउनु पर्ने एक्सन एड नेपालको सुझाव रहेको ।
