नेपाली राष्ट्रिय क्रिकेट टोलीका लुम्बिनी प्रदेशका खेलाडीहरुलाई लुम्बिनी प्रदेश सरकारले प्रति व्यक्ति एक लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
सरकारका प्रवक्ता एवं खानेपानी, ग्रामिण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यका अनुसार सोमबार दाङको देउखुरीमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पुर्याउन सफल लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ।
आईसीसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई विश्वभर चिनाउँदै प्रदेशको गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान नवलपरासीका रोहित पौडेल, रूपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, गुल्मीका सोमपाल कामी, र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय गरेको हो ।
त्यस्तै यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका लुम्बिनी प्रदेशका ५ जना खेलाडीहरुलाई पनि प्रतिखेलाडी पचास हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय सरकारले गरेको छ । हालै यूएईमा सम्पन्न यू–१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यू–१९ का कप्तान रुपन्देहीका देव खनाल, दुर्गेश गुप्ता, कपिलवस्तुका आकाश त्रिपाठी, बर्दियाका विशालविक्रम केसी र अर्घाखाँचीका उत्तम थापा मगरलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने सरकारले निर्णय गरेको छ।
गत विहीबार आईसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा संयुक्त अरब एमिरेट्स (युएई) लाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोट भएको थियो।
