मोहन बैद्यले किन चित्त दुखाउदै प्रधानमन्त्री प्रचण्डविरुद्ध यस्तो अभिव्यक्ति दिए ?

६ चैत्र २०७९, सोमबार ०८:११

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बारेमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले फरक मत राखेका छन् ।

१२ बुंदे शान्ति सम्झौता भाड्न खोज्ने तत्वविरुद्ध प्रतिकार गर्दै पछिल्लो समय माओवादी धारका पार्टी एक हुने सहमति भइरहँदा बैद्यले भने प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्ध अभिव्यक्ति दिएका छन् । उनले प्रचण्डले जनताको विश्वास गुमाईसकेको दावी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज दोस्रोपटक पुनः विश्वासको मत लिदैछन् । नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि पुनः विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधि सभाको बैठकबाट दाहालले शत प्रतिशत विश्वासको मत पाउने दाबी गरिरहेका छन् ।

राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनताले अव विश्वास गर्ने ठाउँ नरहेको बैद्यको जिकीर थियो । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव बैद्यले ओलीलाई खत्तम पार्छू भनेर लाग्ने, फेरी ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री प्रचण्डले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए ।

उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘यो सत्ता र यसका अवयवहरुलाई पूरै फ्याँक्नु पर्छ । कार्यपालिका पनि असफल, न्यायपालिका पनि असफल, व्यवस्थापिका पनि असफल भएको देख्यौ नि हामीले । सबै असफल छन । काँग्रेस त असफल नै हो । पुरानो सत्ता र व्यवस्थालाई चलाउन भनेर कम्युनिष्ट आन्दोलनको नेताहरु भनौ कि गद्दारहरु भनौं । थाम्न भनेर गए । त्यो पुरानो व्यवस्थालाई काँध थाप्न थाले । काँध थापेर के गर्ने त्यो गनाएर बसेको लास जस्तैलाई काँध थापेर के गर्ने ? सक्ने अवस्थामा छैन अव त्यो काँध थापेर । यो व्यवस्था सिद्धिएर जाने प्रक्रियामा छ । त्यसकारणले हामीले के हो भनेदेखि एउटा सशक्त तयारी गरेर जानुपर्छ । जनतामा केही हुन्छ कि भन्ने विश्वास पनि पूरै ध्वस्त भएको छ । भोट कसलाई दिने ल भन्नुस् त ? एउटा पार्टीलाई दिने हो । यो गर्छु, यो गर्छु भन्ने त चाहियो । बाचा बन्धन गर्नु प¥यो । चुनावमा जाने बेलामा गठबन्धन बनाए । प्रतिगमनका विरुद्ध जाने हो । संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर काँग्रेस–माओवादी केन्द्रहरु एकदम कुर्लिएर गए हेर्नुस । अव सरकार बनाउने बेलामा त छैन । सरकार बनाउने बेलामा त जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने ल हेर्नुस अव । यहाँ भन्दा बिचित्र के हुन्छ ? त्यो सरकार त टिकाउनुपर्ने हो नि त फेरी । एमालेसँग बसेर । त्यो पनि टिकाउन नसकेर फेरी फर्केर काँग्रेसतिर । ल हर्नुस । राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो । राजनीतिमा लिला भईसक्यो भन्नुस । यस्तो चालले अव चल्नेवाला छैन । जनताले विश्वास पनि अव गर्नेवाला छैनन् ।’

महासचिव बैद्यले वर्तमान राज्यसत्ता संचालनका लागि काँग्रेस असफल भईसकेको र कम्युनिष्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताए। उनले मुलुकमा आर्थिक संकट चुलिएको र त्यसलाई टालटुल पारेर अघि बढने अवस्था नरहेको समेत बताए।